के हर्निया शल्यक्रिया बिना निको हुन्छ? हर्निया र यसको उपचारबारेका भ्रमहरु र यथार्थहरु


हर्निया भनेको शरीरको कुनै अंग वा बोसोले भरिएको भाग आफ्नो सामान्य स्थानबाट चिप्लिएर अर्को कमजोर भाग हुँदै बाहिर निस्कनुलाई जनाइन्छ। प्रायः पेटको भित्तामा कमजोर ठाउँबाट आन्द्रा वा बोसो बाहिर निस्कँदा हर्निया देखिन्छ। यो खासगरी पेटको नाभी वरिपरि, करङ क्षेत्र (inguinal), जाँघको माथिल्लो भाग (femoral), वा कुनै शल्यक्रिया गरिएको स्थानमा देखिन सक्छ।

हर्निया हुँदा प्रभावित स्थानमा सुन्निएको जस्तो देखिन्छ, जुन उभिँदा वा केही भारी बोकेको बेलामा अझ प्रष्ट देखिन्छ। केही अवस्थामा दुखाइ, जलन वा असहजता हुन सक्छ। प्रारम्भमा हर्निया खासै समस्या नदिए पनि समयसँगै ठूलो हुँदै जान सक्छ र गम्भीर जटिलता निम्त्याउन सक्छ, जस्तै आन्द्रा अड्किने वा रगत आपूर्ति बन्द हुने अवस्था (strangulated hernia)।

हर्निया एक सामान्य तर गलत बुझाइले भरिएको रोग हो। यसबारेमा रहेका अनेकौँ मिथकहरूले गर्दा धेरैजसो बिरामीहरू ढिला उपचार गराउँछन्, जसले जटिलता निम्त्याउन सक्छ।

यस ब्लगमार्फत, हामी हर्नियाबारेका केही आम मिथकहरू र वैज्ञानिक यथार्थहरूबारे जानकारी दिँदैछौँ।

मिथक १: हर्निया सधैं दुख्ने हुन्छ।

यथार्थ: सबै हर्निया दुख्दैन। सुरुवाती चरणमा सामान्य बाउल झैँ देखिने भए पनि कुनै दुखाइ नहुन सक्छ।

मिथक २: हर्निया केवल पुरुषहरूलाई मात्र हुन्छ।

यथार्थ: पुरुषहरूमा इनगुइनल हर्निया बढी भए तापनि महिलाहरुमा पनि हुन सक्छ।​ फेमोरल हर्निया महिलाहरूमा बढी देखिन्छ। अम्बिलिकल र इनसिजनल हर्निया तथा अरु हर्निया महिला तथा पुरुष दुबैमा देखिन्छ।

मिथक ३: भारी बोकेको कारणले मात्र हर्निया हुन्छ।

यथार्थ: भारी बोकाइले हर्निया बढ्न सक्छ, तर यसको मूल कारण पेटको भित्तामा भएको मांसपेशीमा कमजोरी र उच्च पेट भित्रको चाप हो।

मिथक ४: हर्निया औषधि वा घरेलु उपायले निको हुन्छ।

यथार्थ: हर्निया शरीरको संरचनागत कमजोरी हो। यसको एक मात्र उपचार भनेको शल्यक्रिया हो।

मिथक ५: हर्निया बिग्रिएपछि मात्र अपरेशन गर्नु पर्छ।

यथार्थ: ढिलो गर्दा समस्या झनै जटिल हुन्छ। सुरुको चरणमै गरिने शल्यक्रिया सुरक्षित र प्रभावकारी हुन्छ। हर्निया बिग्रिएपछि शल्यक्रियामा उच्च जटिलताहरू हुन सक्ने सम्भावना हुन्छ​।

मिथक ६: हर्निया सर्जरी जोखिमपूर्ण र धेरै पिडादायी हुन्छ।

यथार्थ:खुला शल्यक्रिया मात्र सुरक्षित होइन, आधुनिक प्रविधिबाट गरिने लेप्रोस्कोपिक सर्जरी पनि सुरक्षित, कम पीडा हुने, छिटो निको हुने प्रविधि हो।

मिथक ७: एकपटक सर्जरी गरेपछि हर्निया कहिल्यै फर्किंदैन।

यथार्थ: राम्रो प्रविधि र विशेषज्ञता भएमा पुन: हर्निया हुने सम्भावना कम हुन्छ, तर पूर्ण रूपमा नहुने ग्यारेन्टी छैन।

हर्निया उपचार सम्बन्धी जानकारी:

मलाई हर्निया छ, म के गरूँ?:
चिकित्सकसँग परामर्श गर्नुहोस् जसले शारीरिक परीक्षण र आवश्यक परेमा अल्ट्रासाउन्डको गर्नेछन्।

उपचारका विकल्पहरू:

  • ओपन सर्जरी – सामान्य पद्धतिबाट सानो चिरा गरेर।
  • लेप्रोस्कोपिक सर्जरी – आधुनिक, न्यून आक्रामक प्रविधि।

शल्यक्रियापछि हेरचाह: केही हप्ता भारी नबोक्नु, तौल नियन्त्रण गर्नु, खोकी वा कब्जियत नियन्त्रण गर्नु, र समयमै फलोअप गर्नु।

मुख्य सन्देश:

हर्निया पूर्ण रूपमा उपचार गर्न सकिने रोग हो। गलत विश्वासका कारण उपचारमा ढिलाइ नगर्नुहोस्। हर्नियाको एकमात्र प्रभावकारी उपचार भनेको शल्यक्रिया हो। आधुनिक समयमा लेप्रोस्कोपिक (दुरबिन प्रविधि) वा खुल्ला विधिबाट सुरक्षित र प्रभावकारी रूपमा हर्नियाको उपचार सम्भव छ। समयमै चिकित्सकसँग परामर्श लिनु हर्नियाबाट हुने जटिलता रोक्न अत्यन्त जरुरी हुन्छ।

याद राख्नुहोस्: यो लेख सामान्य जानकारीको लागि मात्र हो। आफ्नो व्यक्तिगत स्वास्थ्य अवस्था अनुसार आफ्नो डाक्टरको सल्लाह पालना गर्नुहोस्।

डा. सुरेन्द्र शाहसँग परामर्श गर्नुहोस्

के तपाईं हर्नियाबाट पीडित हुनुहुन्छ?
हर्नियाको विशेषज्ञ राय र उपचारको लागि डा. सुरेन्द्र शाहसँग परामर्श गर्नुहोस्

अपाइन्टमेन्ट बुक गर्नुहोस्

Thanks for reading this section!

↑ Go to Top